एजेन्सी, १० मंसिर । इजरायलले गाजाको दीर अल बलाहमा रहेको एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ ।
आक्रमणमा हमासका पूर्व उपशिक्षामन्त्री खालिद अबुन्दाह र उनकी पत्नीको मृत्यु भएको प्यालेस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएको छ ।
इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै हमासका एक वरिष्ठ सदस्यलाई लक्षित गरी कारबाही गरिएको बताएको छ । सेनाले आक्रमणबारे विस्तृत विवरण पछि सार्वजनिक गर्ने जनाएको छ ।
यसैबीच, गाजाका अधिकारीहरूका अनुसार पछिल्ला केही घण्टामा इजरायलले गरेका तीन छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ ।
हमासको नागरिक सुरक्षा संगठनका एक प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार उद्धारकर्ता र स्वास्थ्यकर्मीले आठै जनाको शव अल अक्सा र गाजा सिटीस्थित शिफा अस्पताल पुर्याएका छन् ।







