काठमाडौँ, ६ मंसिर । धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोलकी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् । उनलाई धनुषाधाम नगरपालिका–४ गौरीपुर टोलबाट आज बिहान पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहान करिब ११ बजे उनलाई नियन्त्रणमा लिएको थियो ।
महतोले कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।
बरामद हतियार र गोलीसहित उनलाई नियन्त्रणमा लिएर प्रचलित कानुनअनुसार कारबाही तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।







