काठमाडौँ, २ मंसिर । तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको हो । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।
घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको छ । नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा संकलन गर्दै आएको छ । बिक्रीयोग्य सामग्री बिक्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ ।







