काठमाडौँ, २ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार आज बिहान १:२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर ‘आरए ४१०’ मार्फत हङकङबाट काठमाडौँ आएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुआ वाङ पक्राउ परेका हुन् ।
चीनको जिलिन स्थायी वतन भएका वाङको गतिविधि शङ्कास्पद देखिएपछि सुरक्षाकर्मीले जाँच गरेका थिए । त्यस क्रममा उनले आफ्नो मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइल्याएको चार थान पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको थियो ।
प्लास्टिकको क्यापसहित १ किलो ८०३ दशमलव ७७ ग्राम रहेको उक्त सुनजस्तो पदार्थसहित भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा वाङलाई नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।







