डडेलधुरा, १ मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेलअन्तर्गत डडेलधुरामा सञ्चालन भएको भलिबल प्रतियोगिताको समापन समारोहमा उनले सुदूरपश्चिमलाई खेलकुदको ‘हब’का रूपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि सबैसँग सहकार्य गरिने बताए ।
उनले भने “खेलाडीको क्षमता अभिवृद्धि, वृत्तिविकास, खेल पूर्वाधार निर्माण तथा खेलकुद क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यमा कुनै कसर बाँकी राख्ने छैन । मिलेर खेल क्षेत्रको समग्र विकास गर्न हामी प्रतिबद्ध छौँ ।”
मुख्यमन्त्री भट्टले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी पर्यटन प्रवर्द्धन, आर्थिक समृद्धि र प्रदेशको पहिचान स्थापित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।







