काठमाडौँ, २१ कार्तिक । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थगतरूपमा अनुगमन तथा निरीक्षण गरेकी छन् ।
कर्णाली प्रदेशमा आयोजना हुने महाउत्सवका रूपमा हेरिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको स्थिति बुझ्न मन्त्री बादी रङ्गशाला परिसर पुगेकी हुन् ।
अनुगमनका क्रममा उनले खेल मैदान, प्याराफिट र अन्य आवश्यक पूर्वाधारहरूको निर्माण तथा व्यवस्थापकीय प्रगतिको बारेमा सरोकारवालाहरूसँग विस्तृत जानकारी लिएकी छन् । प्रतियोगितालाई व्यवस्थित, भव्य र सफल बनाउन खेलाडीहरूका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन र अन्य सेवा-सुविधाका विषयमा मन्त्री बादीले विशेष चासो व्यक्त गरिन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान, खेल क्षेत्रको समग्र विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिइन् ।







