एजेन्सी, १५ कार्तिक । जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा रहेको थियो।
साढे दुई लाखभन्दा बढी जनसङ्ख्या रहेको सु सहरनजिकै गएको यस भूकम्पको केन्द्रबिन्दु समुद्रमुनि ३५२ किलोमिटर गहिराइमा थियो।
भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको खबर पनि सार्वजनिक भएको छैन।
युरोपियन-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरको वेबसाइटमा स्थानीयले भूकम्पको धक्का निकैबेरसम्म महसुस गरिएको जानकारी गराएका छन्।







