काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू तथा निजी अस्पतालका सञ्चालक र प्रतिनिधि सहभागी थिए ।
बैठकमा गुणस्तरीय र सुलभ उपचार सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण गर्ने, अस्पतालको गुणस्तर र बिरामी सुरक्षाको मापदण्ड तय गर्ने, तथा विदेशी बिरामी र उनका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।
चिकित्सा सेवा पर्यटनको विकासले विदेशी मुद्रा आर्जनमा मात्र होइन, नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्रै विशेषज्ञ सेवा सुदृढ गर्न पनि सहयोग पुग्ने छ । नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ ।







