झापा, ५ कार्तिक । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ०४:१० बजे ध्रुव भट्टराईको जग्गामा टिनको छानो भएको घरमा जिल्ला झापा बिर्तामोड नगरपालिका-४ बस्ने रबि राजवंशीले सञ्चालन गरेको बडी ग्यारेज (ठूला सवारीसाधन मर्मत केन्द्र) को क्यान्टिनमा आगलागी भएको हो। आगलागी भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दमकल तथा स्थानीयवासीको सहयोगमा बिहान करिब ०४:३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने जिल्ला झापा, गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको छ। आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन वटा खसीबाख्रा तथा नगद रु. एक लाख जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार क्यान्टिनमा करिब रु. ३ लाख बराबरको क्षति भएको छ।
यसैगरी, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टाइल्सको गोदाममा समेत सामान्य आगलागी भएको थियो। आगलागीबाट भएको अन्य क्षतिको विवरण संकलन तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।







