काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन् ।
महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी ९औँ केन्द्रीय महाधिवेशनमा नयाँ कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन् । प्रतिष्ठानका विभिन्न पद हुँदै यहाँसम्म आइपुगेका उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
त्यस्तै, प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष पदमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी र द्वितीय उपाध्यक्ष (साङ्गठनिक) तर्फका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध भएकी छन् ।
निर्वाचन समितिकाअनुसार प्रतिष्ठानको द्वितीय उपाध्यक्ष (प्रशासनिक) सहित अन्य पदमा भने चुनाव हुने भएको छ । एक जना द्वितीय उपाध्यक्ष (प्रशासनिक) का लागि राधिका हमाल पुन र रमेशराज भट्टराईको उम्मेदवारी परेको छ ।
त्यस्तै, एक महिलासहित आठ जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ। जसमा देवी घर्ती, पूर्णकला बिसी, नवीन पौडेल, राजकुमार रायमाझी, श्रीकृष्ण बम मल्ल, खेम सेञ्चुरी, रामकृष्ण बम मल्ल, दीपक गरौजा मगर, घनश्याम रिजाल, खुमन अधिकारी, कृष्ण रेउले, रबिन लामिछाने, युवराज मगर र पुष्कल शर्मा भिड्दै छन्।
एक जना महासचिव पदका लागि शिव हमाल र शिरिष देवकोटाको उम्मेदवारी परेको छ । दुई जना उपमहासचिवका लागि शङ्कर विरही गुरुङ, पीएन सापकोटा, ईश्वरीप्रसाद भुसाल र जीवन दाहाल गरी चार जनाबीच प्रतिस्पर्धा हुँदै छ।
१२ जना सचिव पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरूमा दिनेश काफ्ले, कुशल बेल्बासे, उत्तम शर्मा, सम्झना लामिछाने मगर, सीता रानामगर, नवीनसिंह धामी, प्रेम शर्मा, राजकुमार खत्री, तारानाथ आचार्य, प्रकाश भट्ट, पदमबहादुर धामी, कृष्णप्रसाद गौतम, विष्णु घिमिरे, भरत बराकोटी, उषा सुवेदी, सुजन लम्साल र सूर्य खड्का रहेका छन्। यीमध्ये सचिव (प्रशासनिक) मा उत्तम शर्मा, सचिव (उपत्यका) मा सुजन लम्साल र सचिव (विदेश) मा सूर्य खड्का निर्विरोध भइसकेका छन् ।
चार जना सहसचिवमध्ये साङ्गठनिकतर्फ कुमार राना निर्विरोध भएका छन्। बाँकी तीन पदका लागि पुरुषोत्तम भण्डारी, तिलक परियार, मनमाया वाइवा, सुशीला गौतम, रेशम निर्दोष र गोविन्द भट्टराईबीच प्रतिस्पर्धा हुनेछ।
यस्तै, तीन जना सहकोषाध्यक्षका लागि सम्झना भण्डारी, कुमार पुन मगर, हरिकला लम्साल र जानुमाया तामाङ गरी चार जना भिड्दै छन्।







