काठमाडौँ, १३ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकार स्वास्थ्य सेवाको गुणस्तरीय विस्तार र पहुँचमा गम्भीर रहेको बताएकी छन् ।
आज प्रतिनिधि सभाको बैठकमा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री मेहताले भनिन्, ‘आज हामी यस विधेयकको सैद्धान्तिक पक्षमा केन्द्रित भएर छलफल गरिरहेका छौँ। सांसदज्यूहरूबाट प्राप्त रचनात्मक सल्लाह, सुझाव र मार्गदर्शनलाई मन्त्रालयले सकारात्मक रूपमा ग्रहण गरेको छ ।’
मन्त्री मेहताले नेपालको संविधानको धारा ३५ को उपधारा १ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको स्मरण गराइन् । सोही संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न तथा नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नदिन सरकार लागिपरेको उनको भनाइ थियो।
मन्त्री मेहताले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाले गुणस्तरीय स्वास्थ्य शिक्षा र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, ‘यही उद्देश्य अनुरूप प्रतिष्ठानको पूर्वाधार तयार गर्ने र सञ्चालन गर्ने कार्यलाई अगाडि बढाइएको छ।’







