काठमाडौँ, २० भदौ । चितवनमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा टाँडीबाट भरपुर जाँदै गरेको लु प्र.०१-००१ ख ००४५ न.को मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ न.को स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका दर्जीको उपचारका क्रममा बिहान साढे ६ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मिनी ट्रकका चालक रुपन्देहीको गैडहवा गाउँपालिका-७ का ५० वर्षीय रामेश्वर खरवीन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।






