काठमाडौँ, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठेको भन्दै कार्यशैली र व्यवहार सुधार गर्न निर्देशन दिएका छन् ।
आज सिंहदरबारमा मन्त्री र सांसदहरूलाई एकै ठाउँमा राखेर सभापति लामिछानेले सर्तक, सचेत र जिम्मेवार भएर काम गर्न कडा निर्देशन दिएका हुन् ।
त्यस्तै सभापति लामिछानेले मन्त्रीहरूका काममा कुनै कमी कमजोरी भएको पाएमा प्रमाणसहित सभापतिको सचिवालयमा लिखित जानकारी दिन सांसदहरूलाई निर्देशन दिएका छन् ।
‘मन्त्रीहरूबाट कुनै गलत काम भएको भेटिएमा लिखित रूपमा प्रमाणसहित सभापतिको सचिवालयमा जानकारी सांसदहरूले दिनुहोला’, सभापति लामिछानेले बैठकमा भनेका छन् । त्यसक्रममा लामिछानेले मन्त्री र सांसद दुवै जिम्मेवार बन्न जरुरी रहेको भन्दै सांसदहरूले आफ्ना जिल्लाका समस्या प्रभावकारी ढङ्गले उठाउनुपर्ने र मन्त्रीहरूले त्यसमा उचित सम्बोधन गर्नसक्नुपर्ने बताएका हुन् ।
त्यसबाहेक सभापति लामिछानेले सरकार र पार्टीबारे बाहिर चलेका प्रचारबाजी र हल्लामा नलाग्न निर्देशन दिँदै पार्टीलाई एक ढिक्का बनाउँदै नागरिकका अपेक्षा पुरा गर्नतर्फ लाग्न मन्त्री र सांसदहरूलाई निर्देशन दिएका छन्।






