काठमाडौँ, २१ असार । डोल्पाको मौरेलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
डोल्पा प्रहरीका अनुसार मृत्यु हुनेमा जिपमा सवार त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापा रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । यस्तै दुर्घटनाका अन्य १३ जना घाइते भएका छन् ।
आज दिउँसो करिब १ः५० बजे जगदुल्ला गाउँपालिका ४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २०/ २५ मिटर तल खसेर दुर्घटना डोल्पा प्रहरीले जनाएको छ । जिपमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक जानकारी छ । चालकसहित अन्य १३ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ ।
उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।






