चितवन, ८ असार । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ ।
भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर बस्ने अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्ने राजिब गुरुङ गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा आज बिहान २:४० बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरीले ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ बस्ने २७ वर्षीय बाबुलाल थोकरलाई नियन्त्रणमा लिएको छ ।





