आमा,
तिमीले सिकाएको थियौ-
देश भनेको माटो मात्र होइन,
आस्था हो,
पहिचान हो,
पुर्खाको पसिना र
सन्तानको भविष्य हो।
तर आज
यो देशका नक्साभित्र
घाउहरू देख्छु,
सीमानामा प्रश्नहरू छन्,
सडकमा निराशा छ,
र युवाका आँखामा
विदेशका सपनाहरू छन्।
आमा,
यो देश अझै बाँचेको छ
किसानको खेतमा,
सैनिकको पहरामा,
श्रमिकको पसिनामा,
र सत्य बोल्न खोज्ने
साधारण नागरिकको आवाजमा।
यो देश
कसैको निजी सम्पत्ति होइन,
न त कुनै दलको झण्डा मात्र हो,
यो त
सगरमाथाको शिरझैँ उँचो
सबै नेपालीको साझा गौरव हो।
आमा,
जब(जब देशलाई
स्वार्थले कमजोर बनाउन खोज्छ,
म तिम्रो शिक्षा सम्झन्छु-
‘देशलाई गाली गरेर होइन,
देशलाई सच्याएर माया गर्नुपर्छ।’
त्यसैले आज पनि
आशाको दियो निभ्न दिएको छैन,
किनकि
यो देश केवल वर्तमान होइन,
हाम्रा पुर्खाको बलिदान
र भावी पुस्ताको भरोसा पनि हो।
आमा,
म वाचा गर्छु-
यो देशको माया
न नारामा सीमित रहनेछ,
न सामाजिक सञ्जालका शब्दमा,
बरु कर्ममा,
इमानमा,
र उत्तरदायित्वमा देखिनेछ।
किनकि,
आमा,
देश बच्यो भने
हाम्रो परिचय बच्नेछ,
र देश उन्नति गर्यो भने
तिम्रो सपना पनि पूरा हुनेछ।
अन्जु कार्की, काठमाडौँ






