उदयपुर, १० कार्तिक । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ ।
पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो ।
अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ ।
करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताए ।
विद्युत् आपूति बन्दा भएका बेला जेनेरेटर नहुँदा अस्पतालको शव गृहमा शव राख्न, राति आकस्मिक उपचार सेवा लिन आउने बिरामी तथा कुरुवालाइसास्ती हुने गरेको छ ।
प्रमुख डा मण्डलले नयाँ जेनेरेटर खरिद गर्न ५० लाख बजेट आवश्यक पर्ने भन्दै उक्त रकम अस्पतालसँग नभएकाले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताए ।







