काठमाडौँ, २४ जेठ । धनुषासहित समस्त मिथिलाञ्चलमा आज वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने गर्दछन् ।
वटसावित्री पर्वमा पतिको दीघार्युको कामना गर्दै वर र पीपलको पूजा गरिन्छ । पान, सुपारी, केरालगायत फलफूल चढाएर पूजा गर्नुका साथै पीपलको रुखमा रातो र पहेँलो धागो बेर्ने गरिन्छ ।
यो पर्वमा वरको रुखमुनि ब्रह्मा, विष्णु र रुद्रसहितका देवताको पूजाअर्चना गरिन्छ । मिथिलानीले माइतीघरमा मनाउने यस पर्वमा जेष्ठ कृष्ण औँसीको एक दिनपूर्व दुलहाका घरबाट आएको सामग्रीबाट ‘गौरी नैवेद्य’ (प्रसाद सामग्री) बनाई वरकै रुखमुनि शिवपार्वतीलाई चढाएपछि व्रत विधिवत् सुरु हुने परम्परा छ । बर्तालु मिथिलानीले धानको लावा भुटेर बेसारबाट गौरीको आकृति बनाई वरको रुखलाई रङ्ग्याइएको काँचो धागोले बेरेर औँसीका दिन पूजाअर्चना गरेर भोलिपल्ट बिहान नुहाइधुवाइपछि ब्राह्मणलाई भोजन गराई दक्षिणा दिएर पर्व समापन गरिन्छ ।






