माओवादी संसदमा तेस्रो शक्ति हो । तेस्रो शक्ति भएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको प्रमुख हुन सफल भएका छन् । सरकारको नेतृत्व माओवादीले गर्न पाउनु माओवादीका लागि अवसर पनि हो, चुनौति पनि । माओवादीका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्ने अबसर पाउनु मात्रै माओवादी पार्टीका लागि ठूलो विजय चाँही होइन । माओवादीको आफैले संसदमा सोचे भन्दा पनि सानो संख्यामा उपस्थिति रह्यो । कुनै पनि माओवादीको नेता तथा कार्यकर्ताहरुले यो अवस्थामा माओवादी खुम्चिन्छ भन्ने सोचेका पनि थिएनन् होला शायद ।
तर, माओवादी पार्टीको ग्राफ यसरी तल ओर्लियो, अब उठाउनलाई धेरै गाह्रो छ । त्यसोत प्रधानमन्त्री प्रचण्डले अर्को चुनावमा माओवादी ठूलो हुने बताएका छन । तर, सबैलाई थाह छ भन्नु र हुनु फरक कुरा हो । त्यसोत माओवादीको मूल नेतृत्वले आफ्नो व्यक्तिगत महत्वकाक्षा जसरी चल्दा पूरा हुन्छ, त्यसरी नै चल्दा पार्टीलाई चाँही हानी वा नोक्सानी हुँदोरहेछ भन्ने कुरा बुझ्नु जरुरी छ ।
नेताहरुको महत्वकाक्षा पुरा गर्ने सोचका साथ मात्रै चल्दा पार्टी सुकेनासको रोग लागे झै सुकेर जाँदो रहेछ भन्ने कुरा आउँदा दिनमा मनन गर्नु पर्ने देखिन्छ । हिजो माओवादीको नेतृत्वले कांग्रेससंग गठबन्धन गरेर निर्वाचनमा गएको जनताले मन नपराएको देखियो । कांग्रेससंगको गठबन्धन जनताले नरुचाएकै कारण पनि माओवादीले धेरै ठाउँमा हार्नु परेको सत्य हो । एक त कांग्रेस माओवादीको गठबन्धनलाई जनताको तल्लो तह जुन माओवादीको भोट बैंक हो, त्यसले पनि नरुचाएको देखियो ।
अर्को तर्फत्यसरी नै कांग्रेससंगको गठबन्धनमा कांग्रेसको मतदाताहरुले माओवादीलाई नरुचाएको देखियो । कांग्रेसका मतदाताहरुले त निर्वाचनका धेरै क्षेत्रहरुमा माओवादीको सट्टा घण्टीलाई भोट हालेको देखियो । यसले गर्दा कांग्रेस–माओवादीका कार्यकर्ताका बीचमा विचारको त परको कुरा केमेष्ट्रि नै नमिल्ने देखियो । नेताहरुको व्यक्तिगत महत्वकाक्षा पूरा गर्नका लागि कांग्रेस–माओवादीका नेताहरु माथि –माथि उनीहरुलाई स्वार्थको रसाइनले मिलाए पनि तल–तल कार्यकर्ता लेवलमा उनीहरुका बीचमा मेल हुँदैन, भन्ने कुरा गएको आमनिर्वाचनले देखाएको छ । कांग्रेससंगको मिलापले माओवादी पार्टीलाई राजनीतिक रुपमा लाभ होइन, घाटा नै हुन्छ भन्ने देखिएको छ ।
अहिले पनि कांग्रेसले आफ्नो स्वार्थ पुरा गर्नका लागि मात्रै म्याउँ–म्याउँ गरिरहेको हो । उसले माओवादीलाई संगै लिएर जानु पर्छ भन्ने सोच त्यसको नेतृत्वले राखेको भए यसै पटक प्रचण्डलाई प्रधानमन्त्री सजिलैसंग छोड्थियो नी । देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुबै पदमा आँखा लगाएका थिए । माओवादीको संसदमा पातलो उपस्थिति देखेपछि उनी जोतिषीको भनाई पूरा गर्न फेरी पनि प्रधानमन्त्री हुन कसिएका थिए । माओवादीलाई पेलेर दुवै पद हाता पार्ने रणनीतिमा अन्तिम समयसम्म पनि अडिग रहेका थिए । उनी कसैगरी पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने पक्षमा थिएनन् । उनी सांसदको ठूलो दलको नेता भएकोले सोही अनुसार संविधानको अर्को धार अनुसार प्रधानमन्त्री बन्ने सपना देखिरहेका थिए । तर, जब एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई साथ दिए, त्यसपछि मात्रै देउवाको छटौ पटक प्रधानमन्त्री हुने मिठो सपनामा चिसो पानी पोखिएको थियो ।
त्यसपछि सत्ता गुमेको पीडाले छट्टपटाएका देउवा अहिलेसम्म पनि उनी राम्ररी निदाउन पनि सकिराखेका छैनन् । उनी जसरी पनि यो अहिले बनेको समिकरण भत्काउन लागि परेका छन् । फेरी पनि सत्ता प्राप्तीका लागि जायज–नाजायज सबै खेल अघि बढाइरहेका छन् । कांग्रेस पार्टी पंक्ति भित्रै सरकारलाई विश्वासको मत दिन नहुने विरोधको स्वर चर्को रुपमा उठ्दा पनि त्यसलाई वेवास्ता गरेर देउवा अघि बढिरहेका छन् । लोकतान्त्रिक पार्टीको दावा गर्ने कांग्रेसले अलोकतान्त्रिक चरित्र प्रर्दशन गर्दा पनि देउवालाई छोएको छैन ।
कांग्रेस सत्ता पक्ष होकी प्रतिपक्ष हो ? अझैसम्म पनि त्यसको भेद खुलेको छैन । देउवाको चरम सत्तालिप्साको कारण सत्ता गुमेका कारण कांग्रेसभित्रै उनको चर्को विरोध भैराखेको छ । सत्ता गुमाउनु पर्दाको सम्पूर्ण दोष आफ्नो टाउँकोमा आउने भएका कारण पनि उनले पटक–पटक पार्टी केन्द्रीय समितिको वैठक स्थगित गर्दै आएका छन् । सत्ता गुमाउनु पर्दाको चर्को आक्रोसको मार खानुपर्छ भनेरै उनी केन्द्रीय समितिको बेठकबाट भाग्दै आएका छन् । कदम कदाचित यो समिकरण भत्किन्छ कि भन्ने एक मात्रै आशमा देउवाले दिन कटाइरहेका छन् । आफ्नै पार्टी भत्रको चर्को विरोधको सामाना गर्दै सरकारलाई दिएको विश्वासको मतले कतै समिकरण भत्काउन हतियारको रुपमा काम गर्छ कि भन्ने दिउँसै सपना देखेर बसिरहेका छन् ।
उपेन्द्र केसी
भक्तपुर






