नरेश्वर ज्ञवाली
नेपालको कम्युनिष्ट आन्दोलनले निकै ठूलो आरोह अबरोह र उतार चढाब पार गरेर ७० वर्ष बिताएको छ । पार्टी स्थापनाको करिब करिब एक सताब्दी पुरा हुन खोज्न चानचुने विषय होइन । दुररर्शी नेता र सहि नेतृत्व हुने हो भने यो समय सम्ममा क्रान्ति पछि मुलुकमा समाजवादी कार्यदिशालाई अंगाल्दा कायपलट नै हुने थियो । तर हामी कहाँ स्थापना कालदेखि आजसम्म कम्युनिष्ट पार्टी भित्र कुनै सैद्धान्तिक तथा रणनीतिक विवादबिना नै कम्युनिष्ट पार्टी छिन्न भिन्न भईरहेका छन् । मात्र नेतृत्वमा देखा परेको अहंकार, सत्तास्वार्थ र इगोइज्मले गर्दा परिस्थीति यहाँसम्म आइपुगेको छ । यति हुँदाहुँदै पनि देशमा निरंकशताका बिरुद्ध प्रजातन्त्र र गणतन्त्र प्राप्तिको आन्दोलनमा कम्युनिष्ट पथ पार्टीको भुमिका महत्वपूर्ण र अग्रणी नै रह्यो । बास्तवमा अग्रजहरुको सपना थियो, कम्युनिष्ट पार्टी एउटै बनोस । माक्र्सवादका प्रणेता लेनीनले भन्नुभएको थियो, हरेक देशमा एउटै मात्र कम्युनिष्ट पार्टी हुनु पर्दछ । हाम्रो देशमा पनि पुष्पलाल, तुल्सीलाल, मनमोहन र मदन भण्डारी समेत सबैले कम्युनिष्ट पार्टीहरु बिचको एकतामा सधैं जोड दिइरहनु भएको थियो ।
त्यसकै फलस्वरुप नै ससना कम्युनिष्ट घटकहरु मिलेर नेकपा माले बन्यो र पछि मनमोहनसँग मिलेर एमाले बन्यो र माओवादी धारमा पनि ससना धेरै ग्रुप मिलेर माओवादी बनेको हो । समय क्रममै त्यती बेला पनि एकले अर्कोलाई गंभिर प्रकारका आरोप पनि नलगाएका हैनन् तर त्यहाँ पनि न कुनै सैद्धान्तिक विवाद थियो न कुनै कार्यनीतिक मात्र इगो नै थियो । जब मुलुकमा निरंकुशतार सर्बसत्तावाद हाबी हुन थाल्यो प्रजातन्त्र र लोकतन्त्र गणतन्त्रको लागि परिस्थितिले एउटै मोर्चामा ल्याउन बाध्य बनायो । २०६२–०६३ को जनक्रान्तिले देशमा पुँजिवादी र सामन्तवादीविरुद्ध क्रान्ती सम्पन्न गर्यो । जो कम्युनिष्टहरु कै सैद्धान्तिक विषय थियो । अबको यात्रा समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै मुलुकमा समाजवादको आधार तयार गर्नु पर्ने थियो । यसको केहि असल शुरुवात र संकेतको रुपमा २०७२ को संविधान निर्माण पछि दुई ठूला कम्युनिष्ट पार्टीहरु बिच एकताको सृखंला अगाडी बढ्यो र एकिकरण गर्ने सहमतिमा एउटै चुनावी घोषणापत्र तयार गरेर नेकपा एमाले र माओवादी केन्द्रले २०७४ मंसिर १० र २१ गते सम्पन्न हुने संघ र प्रदेश सभा चुनावमा संयुक्त उम्मेदवारहरु खडा गरेर आ आफनो चुनाव चिन्हमा जाने निर्णय भयो ।
आम नेपाली जनता तथा दुबै तर्फका नेता कार्यकर्ताहरु अब एउटै कम्युनिष्ट पार्टी बन्ने भयो भनेर निकै ठूलो उत्साहका साथ चुनावमा भाग लिए र परिणाम सोचे जस्तो पनि भयो । कम्युनिष्ट पार्टीको नेतृत्वमा करिब दुइतिहाईको सरकार बन्ने भयो । यो भन्दा खुसी अरु के हुन सक्थ्यो र । हुन पनि केपी ओलीको प्रधानमन्त्रीमा कम्युनिष्टको सरकार बन्यो । तर समय बित्दैै गयो, एकिकरणका बेलामा भएका कतिपय गोप्य कराहरु बाहिर छताछल्ल भयो । दुई अध्यक्षमा आलो पालो प्रधानमन्त्री बन्ने संम्झौतामा पार्टीका माथिल्लो तहका नेताहरुसमेत अनभिग्यतामा परे । यसले गर्दा बिस्तारै नेताहरुमा इगोइज्म देखा पर्न थाल्यो । अहंकार र सत्तालिप्तले नेतृत्वको मनमस्तिष्कलाई भ्रष्ट बनायो । प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत भएका केपी ओलीमा सबैभन्दा बढी अहंकार दम्भ र सत्ताउन्मादले गर्दा म नै सबथोक हो भन्ने इगो उहाँमा रहन गयो । आफैले बनाएको संविधान र कानुनको धज्जी उडाउनुभयो । अन्तर्राष्ट्रिय पुँजिवादीशक्तीहरु लालपुँजिपती र बिचौलियाहरु यो पार्टी एकता र सरकारलाई असफल पार्न लागि परे । नेतृत्वमा भएको असक्षमताले मुलुकको हित नसोच्दा, कम्युनिष्ट सिद्धान्त र समाजवादको बारेमा नसोच्दा छोटो समयमै जुटेको नेकपा बिघटन भयो, सरकार ढल्यो । यदि नेतृत्वले संयमता नगुमाएको भए यी परिघटना हुने थिएनन् । यी सबै गराउनुमा इगोइज्मले नै काम गर्यो । नेकपा फुट्यो एमाले पनि विभाजन भयो । आजको दिनसम्म पनि नेताहरु कुनै संवादमै छैनन् कि हामीले देश र जनतालाई धोका दियौं, हाम्रै कारणले गर्दा मुलुकमा समाजवादी कार्यदिशा गर्न नसक्ने भयौ भन्ने कुनै पश्चताप नै छैन ।
हालै मात्र स्थानीयतहको चुनावलाई नजिकबाट हेरियो त के देखियो बामपंथीहरु नमिल्दाको परिणाम । बामपंथी मत जोड्दाको परिणाम अझैपनि म नै शेर हुँ भन्ने भावनाले काम गरिरहेको छ । यो इगोइज्म कहिले सम्म ? तपाइहरुको इगोको कारणले गर्दा देश राजनीतिक अस्थरिताको भुमरीमा पर्दै छ । के तपाईहरु देश र जनताको लागि थोरै पनि झुक्न चाहानु हुन्न ? तपाईहरु आफैले आफैलाई सोध्नस्, तपाइहरुकै कारणले गर्दा पुनः एउटा पुँजिवादी शक्तीलाई पुनः सत्ता सुम्पिदै हुनुहुन्छ । मुलुकमा समाजवादी कार्यदिशा नहुँदा विकास र सम्बृद्धिमा वर्षौ पछाडी पर्दा तपाईहरुलाई खुसी लाग्छ ? गंभीरताका साथ सोच्नुस् । तपाइको इगोको कारण नेपाली जनताले तपाइहरुलाई धिकार्ने छन् र माफी दिने छैनन् ।
काठमाडौँ, ३१ बानेश्वर ।






