पोखरा, १९ असार । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ७७ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।
बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुलाई कार्यक्षेत्रको प्रत्यक्ष अनुभव गराउने सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँबरले बताउनुभयो । यस कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ती तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकारहरु शोभाकान्त सिग्देल, फडिन्द्र अकिञ्चन र प्रतिक्षा काफ्लेले विद्यार्थीहरुको प्रस्तुतीकरणमा टिप्पणी गर्नुभएको थियो । पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहनुभएका पत्रकारहरुबाट आफ्नो नमुना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको कार्यक्रममा सहभागी विद्यार्थी आदित्य अधिकारीे बताए ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धप्राप्त गरी पोखरामा व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । हाल कलेजमा दिवा तथा बिहानी सत्रमा ६ सय बढि विद्यार्थीहरु बिबिए र बिसिआईएस (आईटी) कार्यक्रममा अध्ययन गरिरहेका छन् ।






