नेपाललाई विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउनुपर्छ: राष्ट्रपति

काठमाडौँ, २५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई स्वदेशमै उच्च शिक्षा दिने वातावरण सिर्जना गरी नेपाललाई विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को काठमाडौँमा शुरु भएको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालबाट उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यस क्रमलाई रोकेर उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गरी विदेशी विद्यार्थीहरुको अध्ययनको गन्तव्य बनाउन सकिने धारणा राख्नुभयो । राष्ट्रपति भण्डारीले विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गर्नसके शिक्षाको लगानी परिणाममा निकाल्न सकिने बताउनुभयो । उहाँले स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘नेपालमा माध्यमिक र उच्च शिक्षाको शिक्षा प्रदान गर्न निजी क्षेत्रबाट सञ्चालित शिक्षालयहरूले पुर्याएको योगदानले शैक्षिक प्रगतिको लक्ष्य हासिल गर्न हिसान सक्षम हुनेछ भन्ने विश्वास लिएकी छु । मूलतः नेपालमा १० जोड दुई शिक्षा शुरुवात भएपछि निजी क्षेत्रले पनि उच्च शिक्षाको क्षेत्रमा लगानी गर्न थालेको हो । आवश्यक तयारी नपुग्दै १० जोड २ शिक्षा शुरु भएको परिवेशमा निजी क्षेत्रले यसको शैक्षिक व्यवस्थापनमा देखाएको अग्रसरताको म सराहना गर्न चाहन्छु । शिक्षा प्राप्त गर्नु हरेक नागरिकको मौलिक अधिकार हो भने समान विभेदरहित शैक्षिक पहुँच स्थापित गर्नु राज्यको दायित्व हो । विद्यालय शिक्षाका साथै उच्च शिक्षामा आम नागरिकको पहुँच बढाउने, विद्यार्थी भर्ना दर मात्र नभइ अध्ययनको निरन्तरता अभिवृद्धि गर्ने तथा शिक्षाको माध्यमबाट समाजको रुपान्तरण गर्ने सन्दर्भमा नेपाल सरकार, शिक्षासेवीहरु र सम्वद्ध पक्षको ध्यान जानु जरुरी छ । हाम्रो देशबाट प्रत्येक वर्ष हजारौँको संख्यामा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई स्वदेशमै बसेर गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने बारेमा पनि हामी संवेदनशील हुनुपर्छ । हामीले उच्चस्तरीय शैक्षिक संस्थाहरु निर्माण गर्नसके गुणस्तरीय शिक्षा प्राप्त गर्ने एक गन्तव्यको रुपमा हाम्रो मुलुक पनि पर्न सक्दछ । त्यसका प्रशस्तै सम्भावनाहरू पनि छन् । यसबाट स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्छ । हाम्रा विद्यार्थीहरुलाई स्वदेशमै अध्ययन गर्ने वातावरण सिर्जना गर्नुका साथै विदेशी विद्यार्थीहरुलाई समेत नेपालमा अध्ययन तथा अनुसन्धानका लागि हामीले आकर्षित गर्नसके शिक्षाको हाम्रो लगानी हामी परिणाममा निकाल्न सक्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा

एजेन्सी, १० असार । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा मे १५ मा घोषणा गरिएको इबोला प्रकोपमा २७७ जनाको मृत्यु

काठमाडौँ, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी

काठमाडौँ, ९ असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अदालतमा दायर हुने हरेक रिट निवेदनमा आफूलाई विपक्षी बनाउने परिपाटीप्रति असन्तुष्टि जनाएको