काठमाडौँ, २८ बैशाख । कोरोना सङ्क्रमतिको सङ्ख्या बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।
तरकारी बजार विकास समितिले मङ्गलवार (आज) एक सूचना निकालेर आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो ।
आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो । समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ । जसमा एक वटा थोक पसलमा अधिकतम दुई जना बसी सामाजिक दुरी कायम गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ ।
समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्शन र्याक/होल्डिङ र्याकमा कारोबार गर्न निर्देशन दिइसकेको छ ।







