काठमाडौँ, ३ पौष । पछिल्लो समय चर्चाको शिखर चुम्न सफल भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विधिको कुरा भन्दै गीत गाउने गरेको पाइएको छ । सामान्यतया कुनै पनि राजनीतिक दलमा विधि र पद्धतिको कुरालाई आत्मसात् गर्नुपर्छ, जसबाट नै पार्टी सञ्चालन भएको हुन्छ । तर तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपश्चात एकिकृत बनेको नेकपाको एकताको महाधिवेशन हुने छाँटकाँट छैन । एकताको विधानमा उल्लेख गरिएको छ कि एकताको महाधिवेशनसम्म अल्पमत र बहुमतको निर्णय नभई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमति र हस्ताक्षरीक निर्णय नै आधिकारिक हुनेछ ।
यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने अध्यक्षद्वयको विना मञ्जुरी कुनै पनि निर्णय भए पार्टी एकता औपचारिक रुपमा एकता भंग हुन्छ । जसबाट पूर्वएमाले र पूर्वमाओवादी केन्द्र आफ्नो आफ्नो बाटो लाग्ुनपर्ने हुन्छ । भलै अहिले पूर्वएमाले एकातिर र पूर्वमाओवादी एकातिर हुने सम्भावना नरहेता पनि सामान्य अर्थमा बुझ्ने हो भने आ–आफ्नो बाटोमा अगाडी बढ्ने आधार तय हुन्छ ।
नेकपाको विवाद विधि र पद्धतिको हैन । भनिन्छ, हात्तीको देखाउने दाँत र चपाउने बंगरा फरक फरक हुन्छ ।’ अहिले नेकपामा चलेको विधिको चुरो कुरो पनि त्यस्तै छ । देखाउँदा विधिको कुरा देखाउने अनि एकले अर्कालाई नंग्याउने गरेको स्पष्ट छ । तर वास्तविकता त्यो भन्दा फरक छ, जुन कुरा अब आम जनताले बुझ्न जरुरी रहेको छ । कारण हो, विगतमा आफुले गरेका कालो कर्तुतहरु सार्वजनिक हुने र कानुनी कठघरामा उभिनु पर्ने भएपछि विधिको कुरा उचालिएको छ । जसमा प्रचण्डका लडाकु समायोजन, एनसिएललगायतका ठूला भ्रष्टचारका काण्डहरुका अख्तियारमा रहेको फाईल अगाडी बढ्ने डर रहेको छ भने माधव कुमार नेपाललाई बालुवाटारको जग्गा काण्डलगायतका फाइलहरु खोलीने डर पैदा भएको छ । त्यसलाई रोक्न विधिको कुरा खुव चर्चा गरिएको छ । जसले जनता तथा कार्यकर्तालाई आँखामा कसिंगर लगाउन पाएका छन् । तर कतिपय कार्यकर्ता त्यही मह चाट्न पाएकाहरु तीनिहरुकै चाकरी गर्दै देश व्यापी गुटको भेला गर्दै हिड्ने गरेको पाइएको छ । जुन विगतमा आफ्नो गुटको नेताले टन्न अघाउन्जेल लिएको र त्यसबाट डकारेको जती आफ्नो खल्तीमा पाउन ।
भनिन्छ, ‘अगुल्टोले हानेको कुकुर, विजुली आउँदा पनि तर्सिन्छ ।’ यथार्थ यही हो, नेकपाको विवादमा पनि । विगतमा आफ्नो नेतृत्वकालमा भएका अवैध गतिविधिहरु सार्वजनिक भई कानुनी कारवाही हुने देखिएपछि विधिको कुरालाई पार्टीभित्र प्रवेश गरियो । माधव प्रचण्डले ल्याएको विधिको कुरा के हो ? जनता जानकार छन् । अब नेपाली जनता नेताभन्दा धेरै बुज्रुक भएका छन, राजनीतिक वा अन्य कुराहरुमा । जनताले योग्यता हासिल गरेका छन्, विज्ञता हासिल गरेका छन् । हिजोको जस्तो कागले कान लग्यो भन्दैमा कागको पछि लाग्नेवाला अब नेपाली जनता छैनन् । होलान केही आफ्ना आसेपासे ।
विद्या नै कमजोर भएका नेतृत्वलाई त के नै भन्न सकिन्छ र ? भिरबाट लड्ने गाईलाई राम राम भन्न सकिन्छ तर काँध नै थाम्न त कहाँ सकिन्छ र ? नेता हुने तर जनताको साथ नहुने नेता नेपालमा प्रशस्त नै छन् । जसले गर्दा नेतृत्वमा अल्पमत र बहुमतको खेल सुरु गरेका छन् । तर आफ्नो पक्षमा जनता कति छन् भन्ने कल्पना समेत गर्न सकेका छैनन् । आफ्नो दम्भ प्रस्तुत गरिरहेका छन्, नेतृत्वले ।
प्रचण्डको लौरीको रुपमा हिडिरहनुभएका नेता नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायाणकाजी श्रेष्ठलगायतका नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि अहोरात्र लाग्नु कुनै नौलो कुरा छैन । नेकपाको विवादको मुख्य जुरो नै वर्तमान समयमा अख्तियार दुरुपयोग आयोगको आयुक्त रहेको स्पष्ट देखिएको छ । आफ्नो फाईल उठेको अवस्थामा जेलको यात्रा तयार हुने देखेपछि प्रचण्ड र माधवले घोषीत रुपमा गुटगत भेला गर्दै कार्यकर्तालाई अन्धकार बनाउने प्रयास भइरहेका छन् । चुरो कुरा हो, माधव–प्रचण्डको नजिकका मान्छेलाई अख्तियारको प्रमुख आयुक्त नियुत्ती गरेमा नेकपाको विवाद समाप्त हुने समेत नेकपाकै नेताहरुले बताउने गरेका छन् ।






