नवलपुर, १३ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ ।
सडक किनारमा रोकेर टायर परिवर्तन गर्दै गरेको पिकअप बोलेरोलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा चालकको मृत्यु भएको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका सामरी निवासी ३० वर्षीय अमर देउलाले चलाएको बा.प्र. ०१–०३० च १०९७ नम्बरको पिकअपलाई गैँडाकोटबाट बुटवलतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ख ०४५० नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका देउलालाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै सवारीसाधनलाई जोगाउने क्रममा सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख १३९२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना ग्रस्त भएको छ ।
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–५ निवासी ३० वर्षीय खुसीलाल घलानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।







