काठमाडौँ, १० मंसिर । रणवीर कपूर अभिनीत चलचित्र ‘रामायण’ सर्वाधिक कमाउने चौथो भारतीय चलचित्र बनेको छ ।
चलचित्रले प्रदर्शनको २१ दिनमा विश्वभर १ हजार ७ सय ५५ करोड ६० लाख भारतीय रुपैयाँ कमाएको छ। योसँगै सर्वाधिक कमाइका आधारमा यसले अल्लू अर्जुनको ‘पुष्पा २’ लाई पछि पारेको छ ।
साकनिल्कका अनुसार चलचित्रले बुधबार भारतमा १५ हजार ७ सय सोबाट ९ करोड ६० लाख भारु कमाएको छ। यसमा हिन्दी संस्करणबाट सबैभन्दा धेरै सङ्कलन भएको छ। बुधबार हिन्दीमा ६ करोड ७५ लाख, मलयालममा १ करोड १० लाख, कन्नडमा ७५ लाख, तमिलमा ७० लाख र तेलुगुमा ३० लाख भारु खुद कमाइ भएको छ।
बक्स अफिसमा २१ दिनपछि चलचित्रको भारतमा कुल खुद कमाइ ९ सय ८२ करोड ५५ लाख भारु पुगेको छ। त्यस्तै भारतको कुल ग्रस कमाइ १ हजार १ सय ७३ करोड ६० लाख भारु भएको छ। विदेशमा चलचित्रले २१औँ दिन ६ करोड भारु कमाएको छ। यससँगै वैदेशिक ग्रस कमाइ ५ सय ८२ करोड भारु पुगेको छ।
विश्वभर १ हजार ७ सय ५५ करोड ६० लाख भारु सङ्कलन गरेपछि ‘रामायण’ ले अल्लू अर्जुनको ‘पुष्पा २’ को १ हजार ७ सय ४२ करोड १० लाख भारुको कुल कमाइलाई उछिनेको हो। अब ‘रामायण’ सर्वाधिक कमाउने भारतीय चलचित्रको सूचीमा चौथो स्थानमा उक्लिएको छ।
‘रामायण’ लाई अब ‘बाहुबली २’ को कीर्तिमान तोड्न ३२ करोड ४६ लाख भारु कमाउनुपर्नेछ। ‘बाहुबली २’ को विश्वव्यापी कमाइ १ हजार ७ सय ८८ करोड ६ लाख भारु रहेको छ। त्यस्तै ‘धुरन्धर २’ ले १ हजार ८ सय १३ करोड ३९ लाख भारु कमाएको छ।







