एजेन्सी, ४ मंसिर । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख वोल्कर तुर्कले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
उनले इमरानलाई आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउन र पाकिस्तानमा बढ्दो राजनीतिक तनाव कम गर्न सरकार तथा विपक्षी दलबीच विश्वासको वातावरण निर्माण गर्न पनि आग्रह गरेका छन् ।
सीएनएनसँगको एक अन्तर्वार्तामा तुर्कले इमरानको रिहाइ र स्वास्थ्य उपचारको विषय उठाएका हुन् । उनले पाकिस्तानमा राजनीतिक तनाव कम गर्न सबै पक्षले विश्वास बहालीका लागि आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
यसैबीच, इमरान खानका छोरा कासिम खानले पनि अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो पिताको अवस्थाबारे हस्तक्षेप गर्न अपिल गरेका छन् । उनले पाकिस्तानका सेना प्रमुख असीम मुनीरको नेतृत्वमाथि हत्या, अपहरण र यातनाजस्ता गम्भीर आरोप लगाएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले पनि इमरान खानको कारागार अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। संस्थाका अनुसार सन् २०२५ डिसेम्बरदेखि उनलाई परिवारका सदस्यसँग भेट गर्न दिइएको छैन। उनलाई लामो समयदेखि एकान्त कारावासमा राखिएको समेत आरोप लगाइएको छ।







