काठमाडौँ, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर लागेको तथा जनताप्रति सरकार उत्तरदायी हुन नसकेको बताएका हुन् ।
ओलीले भने, ‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौ पैसा जम्मा भएको छ त्यो पैसा थान्को लागेर बसेको छ, पीडितहरु दुखमा पिल्सिरहेका छन्’, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन, शिक्षा विग्रदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रश्रव वेदनामा शिशुलाई जन्म दिनुपरेको छ ।’
उनले संसद विघटनसम्बन्धी मुद्दामा अदालत समेत चुपचाप लागेर बसिरहेको भन्दै असन्तुष्टि जनाए । ‘राज्यका अङ्गहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन्, कारण मैले भनिरहनुपर्दैन सबैलाई थाहा छ’, ओलीले भने, ‘यस्तो स्थितिमा देशको अस्मिता,स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न आवश्यक छ त्यसका लागि जनता अघि बढ्नुपर्ने अवस्था आइसकेको छ ।’ उनले जनतालाई झुक्काएर र जेनजी विद्रोहको बहाना बनाएर तालिमप्राप्त अपराधीलाई परिचालन गरेर वितण्डा मच्चाउने काम भएको दाबी गरे ।







