सिन्धुली, १ मंसिर । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
मङ्गलबार दिउँसो २ बजे जनकपुरबाट काठमाडौँ जाँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार सबै १४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये नौ जनाको पहिचान खुलिसकेको छ भने बाँकी पाँच जनाको विवरण खुल्न बाँकी छ । पहिचान खुलेका घाइतेहरूमा धनुषाको शहीदनगर नगरपालिका–८ बस्ने सवारी चालक दीपक कुमार दास, शहीदनगर–७ की रानी कुमारी मण्डल, शहीदनगर–२ का पियुष गोहित, सोही ठाउँका आयुष गोहित र रुबी गोहित रहेका छन् । यसैगरी, ललितपुरको भैँसेपाटी बस्ने प्रियाङ्का साह र उनका तीन छोरीहरू जेनी साह, सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।






