ललितपुर, १६ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले जनताका समस्या समाधानमा सक्रिय हुँदै पार्टीलाई जनतासँग जोडेर रूपान्तरण गर्नुपर्ने बताएकी छन् ।
सो पार्टीको ललितपुर जिल्ला समितिले महालक्ष्मीस्थानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीका विभिन्न मोर्चालाई जनसेवा र जनश्रमसँग जोड्नुपर्नेमा जोड दिइन्। जनताका स्थानीय समस्या सङ्कलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्नुपर्ने उनको भनाइ थियो।
जनताले स्थानीयस्तरमा पार्टीप्रति व्यक्त गर्ने धारणा र सुझावलाई आत्मसात् गर्दै कमजोरी सच्याउनुपर्ने उनले बताइन् । उनले भनिन्, ‘परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्छ ।’






