काठमाडौँ, ३ कार्तिक । आज शारदीय नवरात्रको नवौँ दिन । यस दिन नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरि मनाईदै छ ।
यस दिन शास्त्रीय विधि-विधान र पूर्ण निष्ठाका साथ साधना गर्ने साधकलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र पूरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ। ‘सिद्धि’ भन्नाले आध्यात्मिक शक्ति र ‘दात्री’ भन्नाले प्रदान गर्ने शक्ति भन्ने बुझिन्छ।
भगवान् शिवले पनि देवी सिद्धिदात्रीकै अनुग्रहबाट सम्पूर्ण सिद्धि र उपलब्धिहरू प्राप्त गर्नुभएको पौराणिक मान्यता छ। यिनै देवीको कृपाले भगवान् शिवको आधा शरीर देवी (नारी) को भएको थियो। यसै कारणले गर्दा शिवजी ‘अर्धनारीश्वर’ नामले प्रख्यात हुनुभयो। भक्तहरूले माताको चरणमा पूर्ण निष्ठाका साथ उपासना गर्नुपर्छ र भक्तिमा स्थिर रहनुपर्छ।
यस देवीको स्मरण, ध्यान र आराधनाले हामीलाई सांसारिक मोह र भवसागरको जोखिमलाई महसुस गराउँदै मोक्ष (अमृत पद) तर्फ डोहोर्याउँछ। देवी सिद्धिदात्रीकै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्दछन्।







