एयर इन्डियाको विमान जयपुरमा आकस्मिक अवतरण

एजेन्सी, २८ असोज । जर्मनीको फ्र्यांकफर्टबाट भारतको नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान एआई–२०३० लाई सुरक्षा सतर्कतापछि राजस्थानको जयपुर विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमान भारतीय हवाई क्षेत्रनजिक पुग्दा सुरक्षा सतर्कता जारी गरिएको थियो । त्यसपछि हवाई ट्राफिक नियन्त्रण (एटीसी) र सुरक्षा निकायलाई जानकारी गराउँदै विमानलाई दिल्लीको सट्टा जयपुर पठाइएको थियो ।

विमान जयपुर विमानस्थलमा सुरक्षित अवतरण गरेको र त्यसमा सवार सबै यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ । अवतरणपछि विमानलाई विमानस्थलको आइसोलेसन क्षेत्रमा राखेर केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ), स्थानीय प्रहरी र बम निरोधक टोलीले जाँच गरेका छन् । यात्रुका सामानसमेत परीक्षण गरिएको छ ।

प्रारम्भिक विवरणमा विमानमा बमको धम्की आएको र अपहरणको आशंका गरिएको उल्लेख भए पनि विमानस्थलका एक अधिकारीले दिएको जानकारीअनुसार यो घटना अपहरणको अफवाहसँग सम्बन्धित हुन सक्ने देखिएको छ । यद्यपि, घटनाबारे अनुसन्धान जारी रहेकाले यसको वास्तविक कारण पुष्टि भइसकेको छैन । समाचार तयार पार्दासम्म एयर इन्डिया र विमानस्थल प्रशासनले घटनाबारे आधिकारिक वक्तव्य जारी गरेका छैनन् । यसअघि पनि एयर इन्डिया समूहको विमानमा यस्तै घटना भएको थियो ।

गत अगस्ट ३१ मा साउदी अरबको दम्मामबाट दिल्ली आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको उडान आईएक्स–१७० को शौचालयमा ‘बम’ लेखिएको टिस्यु पेपर भेटिएपछि विमानलाई अहमदाबादमा आकस्मिक अवतरण गराइएको थियो । उक्त विमानमा सवार सबै ३२ यात्रु सुरक्षित थिए भने अनुसन्धानका क्रममा कुनै शङ्कास्पद वस्तु फेला परेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि