काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले महामन्त्रीको जिम्मेवारी प्रदान गर्ने महाधिवेशन प्रतिनिधि, आम मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरे । १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले प्राप्त मतलाई आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो पुँजीका रूपमा व्याख्या गरेका छन् । उनले आगामी राजनीतिक यात्रामा महाधिवेशन प्रतिनिधि तथा शुभचिन्तकका सल्लाह र सुझावलाई आत्मसात् गर्दै पार्टी निर्माणमा क्रियाशील रहने बताएका छन् ।
पौडेलले १५औँ महाधिवेशनमा व्यक्त भएको मतले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न स्पष्ट सन्देश दिएको उल्लेख गरे । आन्तरिक प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दर अभ्यासका रूपमा लिँदै विगतका तिक्तता बिर्सेर भावनात्मक रूपमा समेत एकताबद्ध कांग्रेस निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् । “भावनात्मक रूपमै एकढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै संकल्पबद्ध हुनुपर्दछ,” पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन् ।
पार्टीको ऐतिहासिक योगदानलाई सम्मान गर्दै वर्तमान समयका आवश्यकता र नागरिकका अपेक्षाअनुसार कांग्रेसलाई रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ ।







