मन्त्री तिमिल्सिना र स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारबीच भेटवार्ता

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ (ओएफसीओएम) का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सो भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबीच सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य र सहयोगका विषयमा छलफल भएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले विभिन्न क्षेत्रमा स्विट्जरल्यान्ड सरकारसँगको सहकार्य तथा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहकार्य र सहयोग विस्तार गर्न नेपाल इच्छुक रहेको बताएका छन् ।

भेटमा डिजिटल सुरक्षा, सार्वभौमिकता, डिजिटल अखण्डता तथा सूचना प्रविधिको विकासबाट नेपालले प्राप्त गर्न सक्ने लाभका विषयमा पनि छलफल भएको थियो । सो क्रममा सञ्चारमन्त्री डा.तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै  यस क्षेत्रमा पर्याप्त लगानी भित्र्याउन वातावरण सहज बन्दै गएको बताए ।

वरिष्ठ नीति सल्लाहकार लोइसले सन् २०२७ जुन २१ र २२ मा स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने ‘एआई ग्लोबल समिट २०२७’ मा नेपालको सहभागिताका लागि निमन्त्रणा दिएका थिए । उनले सम्मेलनमा नेपालको तथा सम्बन्धित सरोकारवालाको प्राथमिकताबारे जानकारी लिएका थिए । सो भेटमा ‘फ्रिडम अनलाइन कोलिसन’ मा नेपालको सम्भावित सहभागिता तथा पर्यवेक्षकका रूपमा नेपालको भूमिकाका विषयमा पनि छलफल भएको थियो । हाल ४२ सदस्य राष्ट्र रहेको उक्त गठबन्धनले इन्टरनेट स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, गोपनीयता तथा अनलाइन अधिकारको प्रवर्द्धनमा सहकार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, २३ कार्तिक । मोरङमा रड प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा जहदा गाउँपालिका-२ मोहनपुरका ४० वर्षीय

दैलेख, २३ कार्तिक । दैलेखमा बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बलेरो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

काठमाडौँ, २३ कार्तिक । पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको

काठमाडौँ, २२ कार्तिक । काठमाडौँमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।