काठमाडौँ, २१ असोज । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको आरोपमा थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरेर ठगेको आरोपमा यसअघि कांग्रेसका महाधिवेशन प्रतिनिधि भरत चौँलागाईं र बालिका शिवाकोटी पक्राउ परेका थिए ।
सो प्रकरणमा थप दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ छन् । केयर गिभरको रोजगारीका लागि इजरायलमा पठाउँछौँ भनेर आरोपीहरूले २ करोड ५० लाख ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएकी ३२ वर्षीया बालिका शिवाकोटीले आफूले सङ्कलन गरेको रकम मध्ये डेढ करोड रुपैयाँ नगद भरत चौँलागाईंलाई दिएको बयानमा खुलाएकी छन् । चौँलागाईं रामेछापको सुनापति गाउँपालिका–१ का स्थानीय हुन् ।
चौँलागाईं असोज १ मा रामेछापको मन्थलीबाट पक्राउ परेका थिए । वैदेशिक रोजगारीका लागी नेपालबाट इजरायलमा कामदार पठाउन सरकारले सन् २०२४ मा परीक्षा लिएको थियो । लक्की ड्र मार्फत २ हजार ९९ जना छानिएका थिए । त्यतिबेला लक्की ड्रमा नपरेका १५६ जनालाई ‘हामी पठाइदिन सक्छौँ’ भनेर चौँलागाईंको समूहले रकम असुलेको हो । शिवाकोटी पत्रकार हुन् ।
बुधबार ब्युरोले सो प्रकरणमा ठगिनेहरूलाई जाहेरी दिन आह्वान गरेको छ ।







