काठमाडौँ, १५ असोज । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
कांग्रेस नेता बद्री अर्यालद्वारा लिखित ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ पुस्तकको बुधबार विमोचन गर्दै उनले राजनीतिक आन्दोलन र बहसलाई अधिकारको विषयमा मात्र सीमित नराखी मुलुकको आर्थिक विकाससँग जोड्न आवश्यक रहेको बताएका हुन् ।
महामन्त्री पौडेलले आर्थिक विकासको मुद्दा राजनीतिक दल र सरकारको प्राथमिकतामा पर्न नसकेको उल्लेख गरे । राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक क्षेत्रसँग जोड्न नसक्दा समाजले आर्थिक उन्नयनका बारेमा पर्याप्त ज्ञान हासिल गर्न नसकेको उनको भनाइ छ । उनले कृषि र औद्योगिकीरणको माध्यमबाट मुलुकको विकास गर्न ठोस कार्य योजना र स्पष्ट नीतिसहित अघि बढ्नुपर्नेमा जोड दिए ।






