जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनमा जानुपर्छ : मन्त्री खनाल

काठमाडौँ, ८ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ निर्णायक रूपमा अघि बढ्नुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायु कार्य तथा न्यायोचित संक्रमणसम्बन्धी उच्चस्तरीय बैठकमा सम्बोधन गर्दै खनालले जलवायु जोखिममा रहेका मुलुकलाई टुक्राटुक्रा, अनिश्चित र ढिलो हुने सहयोगबाट वर्तमान संकट सामना गर्न कठिन हुने बताए ।

मन्त्री खनालले हालैको विनाशकारी बाढीबाट नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै सयौँ नागरिकको ज्यान गएको, घर, पूर्वाधार, कृषि तथा जीविकोपार्जनका साधनमा व्यापक क्षति पुगेको बताए । उनले जलविद्युत् पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको र दशकौँको प्रयासबाट हासिल गरिएका विकासका उपलब्धि पछाडि धकेलिएको उल्लेख गरे । प्रारम्भिक मूल्यांकनअनुसार, पछिल्ला जलवायुजन्य विपद्‌बाट नेपालले ५ अर्ब अमेरिकी डलरभन्दा बढी, अर्थात् नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब १५ प्रतिशत बराबरको क्षति व्यहोरेको उनले जानकारी दिए ।

“नेपालले यो संकट सिर्जना गरेको होइन । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम छ । तर, यसको असर नेपालले असमान रूपमा र पटक–पटक भोगिरहेको छ,” मन्त्री खनालले भने ।

नेपालमा भएको विपद् स्थानीय घटना मात्र नभएको उल्लेख गर्दै मन्त्री खनालले यसलाई विश्वका अन्य जलवायु जोखिममा रहेका मुलुकका लागि समेत गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र

काठमाडौँ, २७ भदौ । यूएईविरुद्ध ४४ रनको जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । यससँगै नेपाल एसीसी एसिया