एजेन्सी, ८ असोज । भुटानले आफ्नो प्राकृतिक सम्पदाबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको मौद्रिक मूल्य मापन गर्दै ‘ग्रस इकोसिस्टम प्रोडक्ट’ (जीईपी) सार्वजनिक गरेको छ ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले बिहीबार अमेरिकाको न्युयोर्कमा आयोजित क्लाइमेट विक एन्ड साइन्स समिट–२०२६ मा सन् २०२४ का लागि भुटानको जीईपी करिब ६.२ अर्ब अमेरिकी डलर रहेको घोषणा गरेका हुन्।
जीईपीले वन, नदी, माटो तथा प्राकृतिक भू–दृश्यबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको कुल आर्थिक मूल्यलाई जनाउँछ। कार्बन सञ्चिति, पानीको नियमन, माटो निर्माण तथा जैविक विविधता संरक्षणलगायतका सेवाहरू यसको मूल्याङ्कनमा समेटिन्छन्।
परम्परागत रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ले देशभित्र उत्पादन भएका वस्तु तथा सेवाको बजार मूल्य मापन गर्ने गर्छ। तर अधिकांश पारिस्थितिकीय सेवाको प्रत्यक्ष बजार मूल्य नहुने भएकाले ती सेवाहरू परम्परागत आर्थिक सूचकमा समेटिँदैनन्।
भुटान सरकारले प्राकृतिक पुँजीलाई राष्ट्रिय लेखा प्रणालीमा समेट्ने दिशामा जीईपी सार्वजनिक गरेको जनाएको छ। न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रसँगै आयोजित कार्यक्रममा जीईपी घोषणा गरिएको भुटान सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।







