काठमाडौँ, १ असोज । सडक भास्सिएर काठमाडौँसँग सडक सञ्जाल नै टुटेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज असोज १ गते बिहीबार बिहान ६ बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन् । भदौ १० र १४ गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो ।
सडक डिभिजन कार्यालयले यस स्थानमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याइएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतम द्वारा जारी सूचनामा उल्लेख छ । राजमार्ग सञ्चालनमा आए पनि अझै विभिन्न स्थानहरूमा सडक भासिने, पहिरो जाने, ढुंगा–माटो खस्ने जस्ता जोखिमपूर्ण अवस्था कायमै रहेकाले चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
विशेष गरी वर्षा भइरहेको समयमा वा सडकमा अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सडक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको निर्देश पालना गर्न तथा आधिकारिक सूचनाका आधारमा मात्रै यात्रा तय गर्न अनुरोध गरिएको छ ।






