काठमाडौँ, १७ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको ग्रीन आर्मी नेपाल नामक संस्थाको वैधता र पृष्ठभूमिमाथि प्रश्न उठाएका छन्।
रसुवा–नुवाकोट क्षेत्रमा गएको बाढीपछि उक्त समूह नेपाली सेनाको जस्तै देखिने पोसाक लगाएर उद्धारमा खटिएको तस्बिर र भिडियो भाइरल भएपछि पोखरेलले यस्तो संस्थालाई संगठित हुन दिनु कत्तिको उचित हो भन्दै सरकारसँग जवाफ मागेका हुन्।
आज सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै महासचिव पोखरेलले प्रश्न गरेका छन्, ‘ग्रीन आर्मी नेपाल नामक संस्थाको वैधता र पृष्ठभूमि के हो ? विद्यालय-विद्यालयमा शाखा र ५२ जिल्लामा सञ्जाल दाबी गरिएको यो कस्तो संगठन हो ?’
नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सेनाले नै ग्रीन आर्मीलाई तालिम दिएको भन्दै सार्वजनिक भएका तस्बिरप्रति आपत्ति जनाएका छन्। ‘नेपाली सेनाले विद्यालयहरूमा राष्ट्रिय सेवा दल गठन गर्ने त सबैलाई थाहा थियो, तर सेवा दलको सट्टा ग्रीन आर्मी बनाउन थालिएको हो ?’ उनले प्रश्न गरेका छन्।
यदि सेनाले यस्तो संस्था नबनाएको हो भने यस्तो प्रकृतिको संगठन खोल्न र संगठित हुन दिनु कत्तिको उचित हो भन्दै उनले सरकारले यस विषयमा स्पष्ट पार्नुपर्ने माग गरेका छन्।






