काठमाडौँ, १ भदौ । गृहमन्त्री सुधन गुरुङले भ्रम फैलाउनेलाई गालामा मालिस गर्न भन्दै अराजक अभिव्यक्ति दिएका छन् ।
निर्वाचन क्षेत्र गोरखा–१ का विभिन्न गाउँहरू पुगेर जनताका गुनासा र समस्या सुनिरहेका गुरुङले आइतबार सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङमा पुगेर गालामा मालिस गर्न निर्देशन दिएका हुन् । गुनासो सुन्ने क्रममा स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्दैछ भन्ने कुरा गृहमन्त्रीसँग राखेका थिए ।
मन्त्री गुरुङले भने, ‘त्रिशूलीमा कसरी राख्ने बाँसको पुल ? २७ लाख पनि राज्यकै पैसा होला नि बाँसको पुल राख्नलाई। जो मान्छेले भ्रम फैलायो, बाँसको पुल यहाँदेखि त्यहाँसम्म बन्छ भनेर । मलाई थाहा छैन को मान्छेले यस्तो भ्रम फैलायो । सारै बुद्धु मान्छे रहेछ । कहीँ बाँसको पनि पुल बन्छ, यहाँदेखि त्यहाँसम्म । त्यही पनि त्रिशूलीमा बाँसको पुल बन्छ ! नेपाल सरकार त्यति लाटो छ, बाँसको पुल त्रिशूलीमा राख्छ ? २७२८ लाखको पुल बन्छ होला नि । जसले यो भ्रम फैलायो, अब नेक्स टाइम जसले यो भ्रम फैलाउँछ गालामा यसो मालिस गरिदिए हुन्छ । सुमसुम्याइँ दिए हुन्छ के कुरा गर्नुभएको भनेर।’





