काठमाडौँ, १७ साउन । प्रहरीले थाइल्यान्डबाट ल्याएको गाँजासहित ३ जना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण व्यूरोका अनुसार साउन १६ मा राति क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौँ ओर्लिएका २ जनाको साथबाट ११ केजी गाँजा बरामद गरिएको हो ।
गाँजा रिसिभ गर्न पुगेका एकजना भारतीयसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पन्जाब घर भएका ३० वर्षीय सोनी, २३ वर्षीय जागरुप सिंह र हरियाणा घर भएका २२ वर्षीय साहिल छन् । आरोपीहरूले थाइल्यान्ड हुँदै हङकङ हुँदै गाँजा ल्याएका हुन् । आरोपीहरूमाथि ब्युरोले अनुसन्धान गरिरहेको छ ।





