काठमाडौँ, २५ असार । नेपाली कांग्रेस इतरसमूहका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसमा एकताको विकल्प नभएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “व्यक्ति होइन, संगठन बलियो बनाऔँ । एक कांग्रेस, सबल कांग्रेस, सम्मान, सहकार्य र सामूहिक नेतृत्व हाम्रो प्रतिबद्धता हो ।”
त्याग, संवाद र एकताले नै कांग्रेस बलियो बन्ने उनको भनाइ छ । संवादहीनता होइन, निरन्तर संवाद हुनुपर्ने खड्काले उल्लेख गरेका छन् । कांग्रेस विभाजन भन्दा पनि उनले बृहत् एकतामा जोड दिएका छन् ।
उनले पार्टी सभापतिका कारण कांग्रेस विभाजन हुने बताएका छन् । उनले आफूहरूले हदैसम्मको लचकता अपनाएको बताए । अब सभापतिले एकता नचाहे मात्र पार्टी विभाजन हुने उनको भनाइ छ ।
उनले भने, “उहाँहरूको कुरामा मैले विश्वास गर्न सकिनँ । हामीसँग भेट्दा सबै ठीकठाक जस्तो देखिन्छ । बाहिर निस्किसकेपछि के–के बोल्नुहुन्छ पत्याउनै गाह्रो हुन्छ,” ।






