काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधन गर्दा प्राथमिकता निर्धारण गरेर मात्रै अघि बढ्नुपर्ने बताएका छन् ।
आज ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै सभापति थापाले सबै विषय एकैचोटि संशोधन गर्न खोज्दा देश समस्यामा पर्नसक्ने बताएका हुन् ।
उनले भने, ‘एकैपटक सबै विषयमा संविधान संशोधन गरौं भन्ने कुराले आठौं वर्ष, १० औं वर्ष लगाएर बल्ल सम्हालेका यी कुराहरूबाट फेरि एक पटक नेपाल ठूलो आगोको भुंग्रोमा पर्नसक्दछ भन्ने नेपाली कांग्रेस पार्टीको चिन्ता हो,’ ।
त्यसका लागि उनले भारतीय संविधानका निर्माता भीम राव अम्बेडकरको ‘ग्रामर अफ एनार्की’को धारण पनि स्मरण गराए । उनले अगाडि भने, ‘प्राथमिकता निर्धारण नगरेर हामी गर्यौं भने यसले पूरै खुला गरिदिन्छ । एनार्कीका लागि जसले जे संशोधन गरे पनि हुन्छ,हाम्रो संविधान बनाउने बेलामा राष्ट्रियता, जनताको अधिकारका विषयबाहेक सबै विषयमा संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे पनि हो साथी हो भन्ठान्यौं भने त्यो संविधान सभामा संविधान कसरी बन्यो भन्ने ज्ञान चेतको अभाव हुन्छ ।’
सभापति थापाले सरकारी पक्षले संविधान संशोधनका सवालमा अपनाएको प्रक्रिया सही नभएको बताए । ‘संविधान संशोधनका विषयमा सर्वोच्च अदालतका बहालवाला वा अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा समिति बनाएर अथवा संसद् भित्रैबाट समिति बनाएर जान सकिन्छ’, सभापति थापाले भने, ‘प्राथमिकता निर्धारण गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।’
उनले पहिलो चरणमा आयोगहरूको पुनरावलोकन गर्न सकिने र दोस्रो चरणमा सुशासन र सार्वजनिक सेवा प्रवाहका विषयमा प्रवेश गरेर संविधान संशोधन गर्न सकिने सभापति थापाको भनाइ छ ।






