काठमाडौँ, २१ असार । धादिङको गङ्गाजमुना गाउँपालिका–४, यार्सा टोल (बिकटोल) मा आफ्नै छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ।
शनिबार अपराह्न घरायसी विषयमा विवाद हुँदा ३५ वर्षीय सुजन सुनारले आफ्ना ६० वर्षीय बुबा धननारायण सुनारको टाउकोमा तीन फिट लामो फलामको पाइपले प्रहार गरेका थिए । गम्भीर घाइते भएका सुनारलाई तत्काल फुलखर्क ग्रामीण अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस सम्बन्धमा गङ्गाजमुना–४ का वडाध्यक्ष प्रेम घलेका अनुसार घटनामा संलग्न अभियुक्त लामो समयदेखि मानसिक असन्तुलनको समस्याबाट ग्रसित थिए । उनले यसअघि पनि घरपरिवारमा विभिन्न घटना घटाउने गरेको र वडा कार्यालयका तर्फबाट परिवारलाई सम्झाउने तथा समस्या न्यूनीकरणका लागि सहयोग गर्ने प्रयास गरिए पनि परिवारले त्यसलाई गम्भीरतापूर्वक नलिँदा यस्तो घटना भएको वडाध्यक्ष घलेले बताए ।





