काठमाडौँ, १२ जेठ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरईपुरस्थित तौलिहवा–बहादुरगन्ज हुलाकी सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज बिहान काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १२६६ नम्बरको ५६ जना यात्रु सवार बस अनियन्त्रित भएर पल्टिएर दुर्घटना हुँदा ३८ जना घाइते भएका हुन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको भैरहवा सिटी अस्पताल र लुम्बिनी सिटी अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
गम्भीर घाइते हुनेमा बर्दियाको बाँसगढी नगरपालिका–१ बबईकी ४५ वर्षीया पवित्रा देवकोटा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३० वर्षीय प्रकाश विक रहेका छन् । दुवैलाई थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा सुर्खेत वीरेन्द्रनगर–३ का २९ वर्षीय पूर्णप्रसाद पाण्डे, चालक डिल्लीप्रसाद दाहाल, लाटिकैलीकी कर्णा विक, बाँकेको नेपालगञ्ज–१२ का तिलक पौडेल, काठमाडौं कागेश्वरीका समिर राना, सुर्खेत चिङ्गाड–५ का उपेन्द्र राना र जसबिर राना रहेका छन् ।
त्यस्तै दैलेख गुराँस नगरपालिका–८ का भीमबहादुर डाँगी, गुराँस–४ का हेमराज शर्मा र उनकी श्रीमती हिरा पराजुली शर्मा, कालिकोट ढाडाचक्र–५ की पुष्पा बम, जुम्ला चन्दननाथ–३ की मिनजोन लामा, सुर्खेत वीरेन्द्रनगर–१२ की सोनिया रोका, वीरेन्द्रनगर–९ की भवि थापा र मनकुमारी थापा, वीरेन्द्रनगर–८ का सबिन्द्र रावल र खगेन्द्र थापा पनि घाइते भएका छन् ।
यस्तै सुर्खेत भेरीगंगा–१० छिन्चुकी कविता राना, दैलेख गुराँस–६ का तेजबहादुर बिसी, सुर्खेत चिङ्गाड–२ का जगत खड्का, दैलेख भगवतीमाई–३ की मुना रेग्मी, झापा दमक–८ का लक्ष्मीप्रसाद सापकोटा, बुद्धशान्ति–१ का सबिन नेपाल, ललितपुर महालक्ष्मी–५ टिकाथलीका शिवराम राई र उनकी श्रीमती बिमलादेवी सापकोटा घाइते भएका छन् ।
यसैगरी सुर्खेत सिम्ता–२ काफलबोटका भक्तबहादुर शाही र उनकी श्रीमती पुष्पा शाही, ओखलढुंगा मोलुङ–२ का ज्ञानेन्द्र गौतम, वीरेन्द्रनगर–३ का १३ वर्षीय मनसुन मल्ल ठकुरी र उनकी आमा रेखा मल्ल, कालिकोट सानो त्रिवेणी–१ का रण अधिकारी, वीरेन्द्रनगर–२ मुलपानीकी अमिना थापा मगर, सहचालक राजन बुढा, जुम्ला सिजा–३ का भरत राना, वीरेन्द्रनगर–५ चिसापानीका दशरथ गुरुङ र वीरेन्द्रनगर–७ का रोशन गुरुङ घाइते भएका छन् ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






