एजेन्सी, २५ बैशाख । अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रामा निस्केको एट्लान्टिक क्रुज जहाजको प्रकोपमा बिरामी परेकामध्ये पाँच व्यक्तिमा हान्टाभाइरस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार थप तीन जना बिरामीमा हन्ता भाइरस सङ्क्रमणको आशङ्का गरिएको छ भने र थप सङ्क्रमित भेटिनसक्ने सम्भावना देखिएको छ ।
डब्ल्युएचओले भनेको छ, “सार्वजनिक स्वास्थ्य सावधानीहरू राम्रोसँग पालना भएमा हाल अर्जेन्टिनाको केप भर्डेबाट स्पेनिस टापु टेनेरिफमा यात्रा गरिरहेको ‘एमभी होन्डियस’मा प्रकोप सीमित हुने अपेक्षा गरिएको छ।”
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने, “अहिलेसम्म आठ सङ्क्रमितहरू भेटिएका छन् र तीमध्ये तीन जनाको मृत्यु भएको छ । आठ सङ्क्रमितमध्ये पाँचमा हान्टाभाइरस भएको पुष्टि भएको छ र अन्य तीन जनामा शङ्का गरिएको छ ।”
जेनेभामा पत्रकारसँग कुरा गर्दै उनले भने, “यो सङ्क्रमणमा संलग्न हान्टा भाइरसको प्रजाति एन्डिज भाइरस हो, जुन ल्याटिन अमेरिकामा पाइन्छ ।” “एन्डिज भाइरसको सङ्क्रमण फैलिन सक्ने छ हप्तासम्मको अवधिलाई ध्यानमा राख्दै सङ्क्रमित सङ्ख्या अहिले देखिएकोभन्दा बढ्न सक्ने अनुमान गरिएको छ,” उनले भने । डच झण्डा भएको जहाज अप्रिल १ मा अर्जेन्टिनाको उसुइयाबाट एटलान्टिक महासागर हुँदै केप भर्डे पुगेको थियो । यो बुधबार टेनेरिफको उत्तरतिर प्रस्थान गरेको थियो ।







