‘रामायण, राम र रामनवमी’

आज रामनवमी पर्व । चैत शुक्ल पक्षको नवमी तिथि हो । यस दिनलाई मर्यादा पुरुषोत्तम रामचन्द्रको जन्म दिनको रूपमा मनाउने गरिन्छ । सनातन मान्यता अनुसार हरेक युगमा खास भूमिकाका लागि एउटा युगपुरुषको जन्म हुन्छ । ती युगपुरुषले त्यतिबेलाको दायित्व पूरा गर्दछन् र त्यो युगको अन्त्य हुन्छ । त्यसरी जन्मने युगपुरुषलाई अपरम्पार ईश्वरको अवतारका रूपमा लिइन्छ । हिरण्यकशिपु, हिरण्याक्षको वध गर्न अर्थात् उनीहरूको ज्यादती अन्त्य गर्न नृसिंहका रूपमा शक्तिको अवतार भयो । रावण, कुम्भकर्णको अत्याचार समाप्त गर्न रामको अवतार भयो । कंसको अन्यायबाट मथुरा, गोकुलवासीलाई मुक्त गर्न कृष्णको अवतार भयो । शान्ति, दया, करुणाका लागि बुद्धको अवतार भयो । अब कल्की अवतार हुन्छ भन्ने मान्यता छ ।

आज रामनवमी भएको हुनाले रामकै चर्चा गर्नु सान्दर्भिक होला । राम कसरी मर्यादा पुरुषोत्तम भए, किन मर्यादा पुरुषोत्तम भए ? यस विषयमा चर्चा गर्नु र शिक्षा लिनु आवश्यक देखिन्छ । तर, समयसँगै मानिसहरूका सोच, विचार, दृष्टिकोणमा फरक आउँछ, आउनु स्वाभाविकै हो । उतिबेलाका मर्यादा, जीवन दृष्टिकोण र अहिलेको सामाजिक सन्दर्भ भिन्न छ । उहिलेलाई उहिलेकै दृष्टिकोण र अहिलेलाई अहिलेकै दृष्टिकोणले हेनु र बुझ्नु उचित हुन्छ । उहिलेलाई अहिले र अहिलेलाई उहिलेको दृष्टिकोणले हेरियो भने सही हुँदैन । रामलाई, रामका मर्यादा र आदर्शलाई पनि त्यसरी नै हेर्नुपर्दछ ।

दृष्टिकोणकै कुरा गर्ने हो भने समाजमा एउटा उखान प्रचलित छ, ‘बाह्र वर्ष रामायण पढ्यो, सीता कसकी जोई !’ यो उखान वास्तवमा रामायण पढ्नेहरूका लागि लागू हुने रहेछ । हुन त नेपाली समाजको यसअघिको पहाडे पुस्ताका धेरैले भानुभक्तको रामायण पढेका छन्, यहाँसम्म कि अक्षर नै नचिनेकाहरूले पनि रामायणका श्लोक गुनगुनाउने गरेको सुनिन्थ्यो । अन्य भाषाका रामायण त खस भाषा नबोल्ने नेपालीहरूले पनि नपढ्ने कुरा भएन ।

भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरे । नेपाली लेखपढ गर्न सक्नेले रामायण पढ्न सक्ने भए, पञ्चम वेद जान्ने भए । वेद, पुराण पढ्न नपाएर र नसकेर जीवन निरर्थक भएको ठान्ने अवस्थाबाट नेपाली समाजलाई मुक्त पार्ने काम भानुभक्तले गरे । रामायण रामलाई केन्द्रबिन्दु बनाएर लेखिएको ग्रन्थ हो । रामायण नपढी, नसुनी, नबुझी रामलाई बुझ्न सकिँदैन ।

रामायण पढ्ने, बुझ्ने र व्यवहारमा लागू गर्ने सन्दर्भ हेर्दा त ‘अर्थ नपाई गोविन्द गाई, कपाल दुखेको ओखती नाइटोमा लाई’ भनेझैँ नै देखिन्छ । रामायण पढ्न त जानियो, कथा त पढियो, जीवनोपरान्त मोक्षको कामना गर्ने मात्रका लागि त यो नै ठूलो विषय भयो, ज्ञानका लागि पढ्नेहरूले त यसमा जीवन खोज्न जान्नुप¥यो र जीवनोपयोगी विषय फेला पार्नुप¥यो । भानुभक्तले त आफ्नो जिम्मेवारी पूरा गरे, उनी प्रशंसा र धन्यवादका पात्र हुन्, तर हामीले आफ्नै भाषामा प्राप्त गरेको रामायणको सदुपयोग केमा कसरी गर्ने गरेका छौँ ? प्रश्न यहाँनेर छ ।

रामायणका अनुसार तत्कालीन चक्रवर्ती सम्राट दशरथका तीनवटी श्रीमती थिए— कौशल्या, सुमित्रा र कैकेयी । यिनीहरू एकअर्काका सौता थिए । कौशल्याका छोरा रामलाई वनवासको प्रस्ताव गर्ने कैकेयीसँग उनको झगडा परेको देखिँदैन । बरु, सुमित्राका छोरा लक्ष्मणसमेत सौताने आमाका छोरा रामसँगै वनवास गए । त्यति मात्र होइन, रामको वनवाससँगै राज्य प्राप्त गरेका कैकेयीका छोरा भरतले राज्यको राजा हुन पाउँदा पनि खुसी भएनन् र रामको चरण पादुका (खराउ—काठको चप्पल) लाई राजगद्दीमा राखेर आफु रामको दासको रूपमा रहेर शासन चलाए । रामायण पढेका, रामकथा वाचन गर्दै हिँड्ने, रामकै भजन गाउँदै हिँड्ने, रामराज्यको वकालत गर्दै हिँड्ने, रामायणका श्लोक भट्याउँदै हिँड्ने अहिलेका रामभक्तहरू कति त्यागी छन् ? कत्तिको मेलमिलामा रहन सकेका छन् ? नेपाली भाषामा रामायण पढेका यी नेपालीहरू यसबाट कत्तिको लाभान्वित छन् र समाजलाई कस्तो सन्देश दिइरहेका छन् ? रामायणबारे समीक्षा छर्दै हिँड्ने, राम र उनको परिवारलाई सामन्ती शोषक भनेर राजनीति रङ्गाउँदै हिँड्ने समाजवादी, जनवादी, क्रान्तिकारी, राजाको शासन ल्याउन राजनीति गरिरहेका राजावादी राजनीतिज्ञहरू र उनीहरूका पछुवा जमातले रामायणको कथा नेपालीमा पढेर केही ज्ञान बढाएका र सदुपयोग गरेका छन् ? यी प्रश्न पनि सँगै उठ्ने गर्दछन् ।

एकल महिला सम्मान

रामायण र अन्य ग्रन्थहरूमा दशरथको वंशावली पढ्दा उनी निकै प्रभावशाली थिए भन्ने बुझिन्छ । अनेकौँ राज्यका राजाहरूसँग उनको मैत्री सम्बन्ध रहेको अनेकौँ राज्यहरू उनका सहयोगी रहेको देखिन्छ । उनका तीन वटै ससुराली पनि गतिलै थिए भन्ने बुझिन्छ । स्वयं सीताको माइत, राम र लक्ष्मणको ससुराली पनि लोकप्रिय र शक्तिशाली रहेको वर्णन पाइन्छ । यसरी हेर्दा उनले वनवासका नाममा त्यति धेरै दुःख नगरेर तिनै सम्बन्धहरूलाई उपयोग गरेको भए पनि असम्भव थिएन । तर, कथाले के भन्यो ? कथाले भन्यो उनीहरूले यीमध्ये कसैको पनि सहयोग लिएनन् । राजा दशरथका परिचित—अपरिचित वनवासीहरूसँग उनीहरूको भेटघाट भयो । कुनै कारणले एक्ल्याइएकी शबरीको खोजी गरेर उनको जुठो बयर खाएर आतिथ्य लिए । यसको तात्पर्य अछुत मानिएकी एकल महिलालाई उनले महत्व दिए, सम्मान गरे ।

महिला अधिकार

स्वर्ग र देवताका राजा इन्द्रले चन्द्रमाको सहयोगमा झुक्याएर यौन सम्पर्क गरी ‘बिटुल्याइएकी’ ढुंगासरह मिल्काइएकी ऋषि गौतमकी पत्नी अहिल्यालाई भेटेर उनको उद्धार गरेको विषय कथामा पढ्न पाइन्छ । यति मात्र होइन, नाम मात्र लिनाले पनि पाप नाश हुने पवित्र पञ्चकन्यामा अहिल्याको नाम लेखाए । अन्यत्र लेखिएको छ, ‘अहिल्या द्रौपदी तारा, कुन्ति, मन्दोदरी तथा । पञ्चकन्या स्मरेन्नित्यं सर्वपातक नाशनम्’ अर्थात् अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कनयाको नित्य स्मरण गर्नाले सबै पापहरू नाश हुन्छन् । अहिल्या, तारा र मन्दोदरी रामायणमा उल्लेख गरिएका पात्र हुन् । अहिल्याबारे माथि नै चर्चा भइसकेको छ । तारा बाली र सुग्रीवकी पत्नी थिइन् भने मन्दोदरी रावणकी पत्नी हुन् । रामायणका विषयमा बहस गर्दा यी विषय प्रायः ओझलमै पर्ने गर्दछन् । किन ? किन भने यसमा रामायणको दोष होइन, जातिभेद र लिङ्गभेद गरी सामाजिक शोषण, उत्पीडन कायम राखेर फाइदा लिनेहरूको बोलबालामा आघात पुग्छ ।

अवस्था अनुसार शक्ति निर्माण

सीताको अपहरणपछि रावणसँग युद्ध गर्नका लागि पनि दशरथको प्रभाव, स्वयं अयोध्याको राज्यशक्ति, मावलीहरूको शक्ति, जनकपुरको शक्तिको सहयोग लिन सकिने हुन्थ्यो, तर रामले त्यसो गरेनन् बरु निषाद, जटायु सहयोग लिए । साथै, वनका बालि, सुग्रीव, जाम्बवान, हनुमान, अङ्गद आदिलाई सशक्तिकरण गरी लङ्का हान्ने शक्ति निर्माण गरे । अन्य शक्तिसँग मिलेर नभई आफ्ना दुस्मनसँग लड्न आफुभन्दा कमजोर शक्तिहरूलाई संगठित गरे ।

आराध्यको आलोचना

सीताको अग्निपरीक्षा, सीता परित्याग आदि विषयको जानकारीका लागि पनि रामायणकै भूमिका हो नि ! रामका कमजोरी बखान्ने स्रोत समेत भएको रामायण र यसका प्रस्तोताप्रति सकारात्मक रहौँ । ‘साहित्य समाजको दर्पण हो’ भनेर मान्नेहरूले रामायण पनि साहित्य हो, त्यति बेलाको समाजको दर्पण हो भनेर बुझ्न मिल्दैन र ?

पुस्तान्तरणको सन्दर्भ

ऐना हेर्दा कानमाथिका दुई—रौँ सेता देखिएपछि नेतृत्व हस्तान्तरण गर्ने महासामन्ती चक्रवर्ती महाराजा र आजको गणतन्त्रका जननिर्वाचित नेतृत्वबिच तुलना गर्न पनि रामायण पढ्न र बुझ्न आवश्यक छ । रामले पनि कोशल देशलाई उत्तर कोशल र दक्षिण कोशल दुई देश बनाएर आफ्ना दुईभाइ छोराहरू लव र कुशलाई शासन सुम्पिएर आफुलाई इतिहासमा विलीन बनाए । इतिहास, पुराण, कथा, महाकाव्यका पात्रहरूका बारेमा बुझ्दा त्यति बेलाको समाज र चेतनाको सापेक्षतामा बुझ्नु र उचित शिक्षा लिनु पर्दछ । कुनै पनि पूर्ववर्ती अवस्थाको कमजोरी उधिनेर—बखानेर वर्तमान र भविष्य उजेलिँदैन ।

रामनवमी पर्व मनाइरहँदा रामलाई सम्झिरहँदा रामायण र रामका सकारात्मक सन्दर्भहरू सम्झनु र सक्दो अनुसरण गर्नु सान्दर्भिक हुनेछ । यसबाट जतिसुकै योग्य र शक्तिशाली नेतृत्व भए पनि एउटा युगीन दायित्व पूरा गरेपछि नेतृत्व परिवर्तन हुने विषय स्पष्ट हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जानु आवश्यक छ । यो राम र रामायणको कथाबाट लिनुपर्ने—लिन सकिने शिक्षा हो ।

(नोटः लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ )

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ