“संवादमा समयविम्ब” छलफल

भक्तपुर, ३ मंसिर । वरिष्ठ साहित्यकार एवं पत्रकार हरि अधिकारीको “संवादमा समयविम्ब” पुस्तक माथि सोमबार भक्तपुरमा प्राज्ञिक छलफल गरिएको छ ।

विशिष्ट व्यक्तिहरूसँग लिएको अन्तर्वार्ता सङ्कलन गरी प्रकाशित गरिएको पुस्तक समयको ऐना हो । समाजमा विभिन्न विधामा स्थापित व्यक्तित्वहरूसँग गरिएको कुराकानीमा आधारित यो पुस्तक पठनीय मात्र होइन, संग्रहणीय छ । छलफलमा बोल्दै लेखक अधिकारीले भने, “आफू पुस्तकको उकेरा भएकोले पुस्तकमा प्रश्न गर्दा भित्री कुराहरू आउन् भन्ने मेरो इच्छा थियो, त्यो आएका छन् । यस पुस्तकलाई मैले बजारमा ल्याउनुको मुख्य अभिप्राय समयलाई अभिलेखमा ल्याउने प्रयास हो ।”

त्यसैगरी, साहित्यकार सनतकुमार वस्तीले भने, “हरि अधिकारी भनेको एक श्रद्धा र संस्कारले भरिएको व्यक्ति हो, जसले टुक्रिएको समयलाई अखण्डित र सुन्दर भएको देख्न चाहन्छ ।” प्राज्ञिक हेमन्त शमशेर राणाले आफ्नो भनाइ राख्दै भने, “लेखक अधिकारीका प्रश्नहरूले केवल संवादका पात्रको भित्री जीवन मात्र होइन, समयका अनकण्टार पक्षहरूलाई पनि उजागर गर्छन् । यो पुस्तक हरेकले पढ्नुपर्ने एक महत्त्वपूर्ण कृति हो ।”

अर्का साहित्यकार ध्रुव मधिकर्मीले पुस्तकलाई समयसँग संवाद गर्न सक्ने माध्यमका रूपमा व्याख्या गर्दै भने, “हरि अधिकारीका प्रश्नहरूले पाठकलाई केवल सोच्न मात्र होइन, समाजको यथार्थलाई आत्मसात गर्न पनि प्रेरित गर्छन् ।” पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले भने, “पुस्तकले पाठकलाई समय, समाज र व्यक्तित्वका विविध आयामहरू बुझ्न प्रेरणा दिनेछ । यो ऐतिहासिक दस्तावेज पनि हो, जुन भावी पुस्ताका लागि मार्गदर्शन बन्नेछ ।”

कार्यक्रममा उपस्थित अन्य साहित्यिक व्यक्तित्वहरू लगायतले प्रकाशित पुस्तकबारे चर्चा गरेका थिए । सोमबार नेपाल प्रेस सोसाइटीको आयोजनामा सोसाइटीकै कार्यालय सूर्यविनायक, भक्तपुरमा कार्यक्रम भएको हो । सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले विषय उठान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले प्रतिकूल मौसम र अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित

काठमाडौँ, १३ भदाै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरी नौबुँदे ध्यानाकषर्णपत्र

काठमाडौँ, १३ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोसी नदीमा आएको विनाशकारी बाढी उद्धार कार्यलाई थप प्रभावकारी बनाउन छिमेकी देशहरूबाट प्राविधिक

काठमाडौँ, १३ भदौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ