काठमाडौँ, ५ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सङ्घीयता कार्यान्वयन पश्चात् नागरिकहरूमा स्वास्थ्य सेवाको पहुँच बढेको बताएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकायहरूको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले नागरिकहरूको नजिकको सरकारको रूपमा रहेर प्रदेशले शिक्षा र स्वास्थ्य सेवा प्रवाह गरिरहेको दाबी गरे । नागरिकहरूसँग प्रत्यक्ष जोडिएर प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रको कार्यक्रम र सेवा प्रवाह गरिरहेको उनले बताए ।
उनले भने, ‘प्रदेश सरकार स्थापना पश्चात् नागरिकहरूको स्वास्थ्य सेवा पहुँच वृद्धि भएको छ । विगतको तुलनामा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तरीयता वृद्धि हुनुको साथै नागरिकका समस्याहरू हल भएका छन्’ ‘विगतमा केन्द्रीकृत शासन प्रणालीका कारण नागरिकहरूमा शिक्षा र स्वास्थ्यको पहुँच पुग्न सकेको थिएन । एकल अधिकार सूचीमा भएर पनि हुनसक्छ प्रदेशले स्वास्थ्य र शिक्षा क्षेत्रमा नागरिकसँग जोडिएर काम गरिरहेको छ ।’






